संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३o १२”१६” देखि ८३o ३८” १६” पूर्वी देशान्तर र २७o २०” ००” देखि २७o४७”२५” उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । राजनैतिकरुपले यस जिल्लालाई ७ संसदीय चुनाव क्षेत्र, १७ इलाका, ४८  गाविस ५ नगरपालिका र १ उप महानगरपालिकामा  विभाजन गरिएको छ । २०६८ को जनगणना अनुसार १६३९१६ घरधुरी रहेको यस जिल्लाको जनसंख्या ८८०१९६ रहेको छ जसमध्ये ४३२१९३ पुरुष र ४४८००३ महिला छन ।
धेरै धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको संवन्धमा भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनको रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको सुन्नमा पाइन्छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।


Skip to toolbar